प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले सांस्कृतिकरुपमा पनि हामीलाई थिचेको बताएका छन् ।
जयन्तीका अवसरमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्रीले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका हुन् ।
प्रधानमन्त्रीले भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भएपनि भारतले विवादित अयोध्या खडा गरेको बताए । प्रधानमन्त्रीले भारतले भनेको अयोध्या नै सही भए त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न गरे । उनले त्यो समयमा कुनै सञ्चार सुविधा विना अहिले भारतले बनाएको अयोध्याबाट राम आउन सम्भव नभएको बताए ।
प्रधानमन्त्रीले भने, ‘यहाँ जनकपुर उहाँ अयोध्या हुन्थ्यो भने कहाँ छोरीको विहे गर्न खोज्या छ, त्यसबेलामा न टेलिफोन न मोबाइल कताबाट थाहा होस् । थाहा हुन सम्भव थिएन ।’ प्रधानमन्त्री ओलीले ज्ञान, विज्ञान र अनेक कुराको सुरुवात र विकास नेपालमा भएको भएपनि त्यो श्रृंखलाले निरन्तरता पाउन नसकेको बताए ।
उनले देशप्रतिको, जनताप्रतिको स्नेह र भलाईप्रतिको निष्ठा र मानवजातिको निष्ठामा कहिल्यैपनि कमी नहुने बताए । प्रधानमन्त्रीले बुद्धि क्षमता ज्ञानको सीमा हुने तर निष्ठा सीमारहित हुने बताए । उनले देशलाई अघि बढाउने सहयात्री आफू भएको र यसका आफू प्रतिवद्ध रहेको उल्लेख गरे । प्रधानमन्त्रीले नेपाली समाजको रक्षा तथा कला साहित्य र सस्कृतिको जर्गेना गर्न पनि प्रतिवद्ध भएर लाग्नुपर्ने पनि बताए ।
प्रधानमन्त्रीले साहित्यिक क्षेत्रमा भानुभक्तको योगदान ठूलो रहेको बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीले हिमवत्खण्ड कला साहित्य सम्मेलन २०७५–स्मारिक बिमोचन गरेका थिए ।